प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री प्रचण्डको सरकार ढल्यो
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत गुमाएका छन्। शुक्रबार प्रतिनिधिसभामा राखिएको विश्वासको मत प्रस्तावमा ६३ मत मात्र पक्षमा पर्यो भने विपक्षमा १९४ मत पर्यो। एकजना सांसद तटस्थ रहे। प्रतिनिधिसभामा विश्वासको मत पाउनका लागि आवश्यक १६८ मत प्राप्त गर्न नसकेपछि प्रचण्ड नेतृत्वको सरकार ढलेको छ।
१८ महिनाको अवधिमा प्रचण्डले पाँचौंपटक विश्वासको मत लिएका थिए। अब नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गर्नेछन्। नेपाली कांग्रेस र नेकपा एमालेबीच असार १७ गते सत्ता सहकार्यको सहमति भएको थियो। जसअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सम्भावना छ।