– मेरो छोरा/छोरी वा घरको कोही सदस्य आस्ट्रेलिया,अमेरिका,यूरोप वा जापान छ भनेर फुर्तिफार्ती नगर्नूस् ! रहरले वा बाध्यताले आफ्नो देश,परिवार र परिवेश छोडेर अर्कै भुगोलमा पुग्नु भनेको गर्वको विषय हुँदै हैन, सन्ताप हो, दीर्घ पीर हो !
– मेरो मान्छेले सरकारी जागीर खाएको छ, राजनीति गरेको छ वा देशमा गतिलै नाम र दाम बनाएको छ भनेर पनि अतिरिक्त गर्व नगर्नूस् ! उनीहरु मध्ये औसत बढि मात्र पनि ठिक भएको भए सिस्टम ठिक हुन्थ्यो । सिस्टम ठिक भएको भए कसैलाई विदेशिनु पर्दैनथ्यो !
– मेरो फलानो डाक्टर छ/ इंजिनियर छ/वकिल छ/पाइलट छ भनेर पनि गफ चुट्दै नहिंड्नूस् ! उपचार नपाएर मरेकाहरु, औषधी किन्ने पैसा नभएर रूँदै हिंडेकाहरु, सवारी तथा हवाई दुर्घटनामा परेर अकालमा ज्यान गुमाउनेहरु तथा जीवनभर न्याय नपाएर आफ्नो चोला नै सकाएकाहरु धेरै छन देशमा, लाज मान्नूस् !
हो, जुनसुकै पेशा गरे पनि ईमानदार छन्, असल छन्, मानवीय समवेदनाको कदर गर्ने खालका छन् भने उनीहरुको जयजयकार दुनियाँले गर्छ, तपाईं आफैले मेरो छोरो/छोरी वा परिवारको मान्छे यस्तो/उस्तो भनेर गौरवगाथा गाइरहनु पर्दैन ! गुणस्तरीय मालको विज्ञापन गरिरहनु पर्दैन !
उसै पनि, यी कुनै पदवी हैनन्, पेशा मात्र हुन् ! डाक्टर हुनु भनेको किसान हुनु भन्दा उत्कृष्ट मानिस हुनु हैन ! व्यापारी हुनु भनेको मजदूर हुनु भन्दा महान मानिस हुनु हैन ! हाकिम हुनु भनेको गृहिणी हुनु भन्दा विशिष्ट मानिस हुनु हैन ! मानिस सब बराबर हुन । विशेष उनीहरुलाई कर्मले बनाउने हो, कर्म गर्ने बेला निभाउने धर्मले बनाउने हो !
किन अचेल जगतमा असल मानिस कम हुँदै गइरहेका छन्, तर गौरवगाथा हरु ज्यादा हुँदै गइरहेका छन् ?!
सायद मानिसहरु सत्यलाई ढाकेर भ्रमको विज्ञापन गरिरहेछन् !!
गहिरो चिन्तन गर्नूस् र जसले जे गफ पेल्यो त्यही नपत्याउनूस् । सत्यको आवाज सानो हुन्छ तर दीर्घायु हुन्छ !!